शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको दोस्रो विधान महाधिवेशनकाे तयारी तिब्र

सोमबार, भाद्र १६ २०८२

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको मूल नाराः ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन्। आज बिहान महासचिव शंकर पोखरेलको उपस्थितिमा महाधिवेशनको कार्यसूची तयार गर्न बैठक बस्नेछ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम तथा संख्या निश्चित भइसकेको छ। दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै हालको विधान महाधिवेशनका प्रतिनिधि हुन्। मृत्यु भएका, पार्टी छोडेका वा कारबाहीमा परेका प्रतिनिधिको सूचीबाट नाम हटाइएको छ। नयाँ प्रतिनिधि चयन गर्ने व्यवस्था नभएकाले केही पदाधिकारी वा समायोजन भएकाहरू आयोजकको हैसियतमा रहनेछन्।

महाधिवेशनमा २,३४९ सहभागी मध्ये २,०३४ प्रतिनिधि रहनेछन्। केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य प्रतिवेदनहरू राजनीतिक, सांगठनिक र विधानसम्बन्धी छन्। साथै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ। प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ।

एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदन महाधिवेशनमा पठाउने र अन्य प्राविधिक विषयमा निर्णय गर्नेछ। प्रचार तथा प्रकाशन विभागले भदौ १८ गते पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी दिनेछ। परिचय पत्र अनलाइनमार्फत पनि उपलब्ध हुनेछ।

सनराइज हलमा प्रवेशका लागि चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। प्रतिनिधिहरूले परिचय पत्रमा रहेको QR कोड स्क्यान गरेर मात्र प्रवेश पाउनेछन्। खाना र खाजाको व्यवस्थापनका लागि एक व्यांकेट जिम्मा पाएको छ।

महाधिवेशनको तयारीका लागि हल सजाउने, मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ। विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीले सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार निर्माण, हसिंया, हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन्। ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गरिरहेको छ भने भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्म १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर राख्ने तयारी गरेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।