शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धनधान्यकी देवी महालक्ष्मीको १६ दिन विशेष पूजा आराधना सुरु

सोमबार, भाद्र १६ २०८२

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रशुक्ल अष्टमी देखि सुरु हुने १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा मानिने यस व्रत विधिपूर्वक आश्विन कृष्ण अष्टमीसम्म मनाइन्छ। यस वर्ष यो व्रत भदौ २९ गते आइतबार समाप्त हुनेछ। व्रतका क्रममा ब्रह्मचर्य पालन गर्नुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम रहेको छ।

हरेक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार मात्र ग्रहण गरिन्छ र दिनमा केवल एकपटक नुन खाने परम्परा छ। व्रतका १६ दिनसम्म बेलुकी चन्द्रमालाई अघ्र्य अर्पण गरिन्छ। यसरी व्रत गर्दा धन, सम्पत्ति र वैभव प्राप्त हुने विश्वास छ। यो व्रत प्रायः नारीहरूले गर्ने गर्छन् र घरमा महालक्ष्मीको वास भई दुःख, दारिद्रय नाश भई सुख-शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार, भगवान् शङ्करले महालक्ष्मी व्रतको विधि भगवती पार्वतीलाई सिकाउनुभएको विभिन्न ग्रन्थमा उल्लेख छ। व्रतको प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने र अलक्ष्मी नाश हुने विश्वास पनि रहेको छ।

महालक्ष्मी व्रत विधिमा उल्लेख छ कि देवराज इन्द्रले महालक्ष्मीको व्रत र पूजा गर्दै ‘महालक्ष्मी अष्टकम्’ स्तोत्र रचना गर्नुभएको थियो। बिहान, मध्याह्न र साँझ तीनपटक स्तोत्र पाठ गरेमा धन, वैभव, सुख प्राप्त हुने साथै शत्रु नाश हुने धार्मिक विश्वास रहेको छ।