शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गोविन्द केसीले थाले २३औँ सत्याग्रह, चिकित्सा शिक्षा सुधारको माग

सोमबार, भाद्र १६ २०८२

सुदूरपश्चिम । प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा केसीले पत्रकार सम्मेलनमार्फत तीन दिनसम्म चल्ने २३औँ सत्याग्रह सुरु भएको घोषणा गरेका हुन्। उनले सरकारले निजी मेडिकल कलेजलाई विद्यार्थी संख्या वृद्धि गर्न गरेको निर्णय तुरुन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए ।

उनको मागअनुसार, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने उनले जोड दिए।

साथै, डा केसीले एकीकृत स्वास्थ्य शिक्षा, विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने र सरकारी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह सुनिश्चित गर्ने माग पनि राखे ।

डा केसी विगतमा पनि चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक अनशन बसिसकेका छन् ।