काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा आउने बताए ।
उनकाअनुसार सरकार डिजिटल नेपाल नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनसहित आठ क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने तयारीमा छ।
मन्त्री गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभावकारी प्रयोगका लागि फाइभजी प्रविधि अपरिहार्य भएको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट यही वर्षको माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने जानकारी दिए। उनले अर्को वर्षभित्रै फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको समेत स्पष्ट पारे।
त्यसका लागि सातै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्ने काम अघि बढाइएको उनको भनाइ छ।
बैंकिङ क्षेत्रका ठगीसम्बन्धी मुद्दा बढिरहेकोतर्फ ध्यानाकर्षण गर्दै मन्त्री गुरुङले यसलाई नियन्त्रण गर्न नयाँ कानुन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए