काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रिय सभामा पेस हुने तयारी गरिएको छ। अपराह्न सवा ३ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
विधेयकका अधिकांश प्रावधानमा सहमति जुटिसकेको छ भने कर्मचारीको अवकाश उमेर हदबारे भने अझै टुंगो लागेको छैन। समितिले आज बिहान ११:३० बजे बैठक बसेर बाँकी विवाद मिलाउने र सकेसम्म आजकै बैठकमा प्रतिवेदन पेस गर्ने तयारी गरेको सभापति दाहालले जानकारी दिइन्।
आइतबारको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमा ५९ वर्ष पूरा गर्ने कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव राखेकी थिइन्। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सदस्यहरूले प्रतिनिधि सभाले गरेको संशोधनअनुसार नै अघि बढ्नुपर्ने अडान राखेपछि सहमति जुट्न सकेको थिएन।
प्रतिनिधि सभाले विधेयकमा अवकाशको उमेर हद क्रमशः ५८, ५९ र ६० वर्ष लागू हुने व्यवस्था गर्दै राष्ट्रिय सभामा पठाएको छ। तर, मन्त्री न्यौपाने र मन्त्रालयका सचिव रविलाल पन्थले सो व्यवस्था स्वीकार गरिए आगामी तीन वर्षसम्म कर्मचारी भर्ना प्रक्रियामा समस्या आउने तर्क प्रस्तुत गरेका थिए।
यस विषयमा आइतबार दुई घण्टा लामो छलफल भए पनि निष्कर्ष ननिस्केपछि आज पुनः बैठक बस्ने र सकेसम्म विधेयकलाई राष्ट्रिय सभामा टुंग्याउने तयारी गरिएको हो।