शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महाधिवेशनमा ‘नेपाली विशेषतासहितको समाजवाद’ विषयमा गहन बहस हुने : उपमहासचिव ज्ञवाली

आइतबार, भाद्र १५ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा ‘नेपाली विशेषतासहितको समाजवाद’ निर्माणबारे गहन बहस हुने जानकारी दिएका छन् ।

प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले महाधिवेशनमा नेपाली समाजको आर्थिक तथा वर्गीय संरचना विश्लेषण हुने बताए। “समाजवादका नेपाली विशेषता के–के हुन सक्छन् भन्नेबारे छलफल हुनेछ। साथै, समाजवाद निर्माणका लागि कस्तो पार्टी आवश्यक पर्छ भन्ने विषयमा पनि गहिरो बहस हुनेछ,” ज्ञवालीले स्पष्ट पारे।

जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइसकेको उल्लेख गर्दै उनले अब समृद्ध नेपाल निर्माणका लागि जबजलाई नयाँ परिस्थितिसँग अनुकूलन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, महाधिवेशनमा अघिल्ला संसदीय निर्वाचनका घोषणापत्रले पारेको प्रभावमाथि समीक्षात्मक छलफल हुने र अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी र राष्ट्र निर्माणका लागि मार्गदर्शक दस्तावेज हुने जानकारी दिए।

उपमहासचिव ज्ञवालीका अनुसार विधान संशोधनसम्बन्धी प्रतिवेदनमा मातहतका कमिटीहरूको सुझाव समेटिनेछ भने भदौ १९ गते बस्ने केन्द्रीय समिति बैठकमार्फत थप सुझावसहित महाधिवेशनमा पेस गरिनेछ।

उनले पार्टीभित्र विवाद सिर्जना हुने कुनै कारण नरहेको प्रष्ट पार्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति एमालेको उच्च सम्मान रहेको र उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्ले लगायतको उपस्थिति थियो।