शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सीदेखि पुटिनसम्मकाे भेटवार्ता तय

शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको एसियाली क्षेत्रीय सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन तयार भएको छ। प्रधानमन्त्री ओलीको टोली शनिबार चीन प्रस्थान गर्ने तयारीमा छ।

यो सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिबाट नेपाल–चीन सम्बन्ध मजबुत बनाउने र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर मानिएको छ। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायत अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत भ्रमण कार्यक्रम सार्वजनिक गरेको थियो। आज मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा भ्रमण दललाई २३ सदस्यीय टोलीको कार्यक्रम र व्यवस्थापन सम्बन्धी ब्रिफिङ पनि दिएको छ।

प्रधानमन्त्री ओली भदौ १४–१८ गते (अगस्ट ३०–सेप्टेम्बर ३०) सम्म चीनको तियानमिन सहरमा सम्मेलनमा सहभागी हुनेछन्। भदौ १४ मा उनी राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय छ। भदौ १६ मा शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। सम्मेलनमा सहभागी विश्वका अन्य नेतासँग पनि भेटवार्ता हुने छ।

भदौ १७ मा बेइजिङ जाने प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्नेछन्। भदौ १८ मा जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर स्वदेश फर्कनेछन्।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन्।

उक्त भ्रमणले नेपाल–चीन व्यापार, प्राविधिक सहयोग, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) लगायत विभिन्न क्षेत्रका सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ।