काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्।
उनका अनुसार बैठक आगामी भदौ १५ र १६ गते काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ, जसमा समसामयिक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन तथा निर्वाचन आयोगमा अध्यावधिक सम्बन्धी एजेन्डा रहेका छन्।
यसअघि गत साउन १६ गते रेशम चौधरी समूहले राष्ट्रिय भेला गरेर रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर, निर्वाचन आयोगले उक्त भेला अवैध रहेको भन्दै खारेज गरिदिएको थियो।
त्यसयता पार्टीको आधिकारिक नेतृत्वमा पुनः रञ्जिता श्रेष्ठ कायम रहँदै आएको छ र उनको नेतृत्वमा नाउपाको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो।