बैतडी । सुदूरपश्चिमेलीहरूको प्रमुख पर्व गौरा आजदेखि सुरु भएको छ । चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व विशेषगरी सुदूरका पहाडी समुदायमा दसैँभन्दा पनि बढी महत्वका साथ मनाइन्छ ।
पण्डित जयानन्द भट्टका अनुसार यो वर्षको गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको छ । पौराणिक मान्यताअनुसार भगवान् शिवलाई पति रूपमा पाउनका लागि पार्वतीले कठोर व्रत गरेर साधना गरेपछि सफल भएको स्मरणमा यो पर्व मनाउने परम्परा चलिआएको हो । संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार गौरा र महेश्वरको विवाहकै सम्झनामा यस पर्वको परम्परा स्थापित भएको हो ।
गौरा पर्व विशेषगरी विवाहित महिलाले व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गर्ने पर्व हो । नेपालका सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड, विशेष गरी कुमाउँ क्षेत्रमा पनि यसलाई उत्साहका साथ मनाइन्छ ।
यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाँडामा गहुँ, केराउ, गहत, मास र गुरुस मिसाएर ‘बिरुडा’ भिजाइन्छ । दोस्रो दिन सामूहिक रूपमा पानीका मुहान वा पँधेरामा बिरुडा धोइने परम्परा छ । सप्तमीका दिन गौरा देवीलाई डालोमा राखी मठमन्दिरमा स्थापना गरी पूजा–अर्चना गर्ने र महिलाले दुबधागो चढाउने चलन रहिआएको छ ।
गौराष्टमीको दिन महिलाले बिहानैदेखि गौराखलोमा पूजा गरेर फाग गाउने, अभिषेक गरी दुबधागो घाँटीमा लगाउने र प्रसादस्वरूप बिरुडा ग्रहण गर्ने परम्परा रहेको छ । महिलाले परिवारको सुख–समृद्धि, अटल सौभाग्य र सन्तानको दीर्घायुका लागि व्रत बस्ने विश्वास रहिआएको छ ।
अठ्यावालीपछि भने देउडा, ठाडो खेल, ढुस्को र धमारी जस्ता परम्परागत सांस्कृतिक खेल–गानाले गाउँघर रमाइलोमय बन्ने गर्छ । यसैबीच, गौरा पर्व नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढेको छ भने रोजगारीका लागि बाहिर गएकामध्ये धेरै घर फर्किन थालेका छन् ।