शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गणेश चतुर्थी आज: विशेष पूजा–आराधनासहित मनाइँदै

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । अग्रपूजाका अधिकारी विघ्नहर्ता भगवान् गणेशको जन्मजयन्तीका अवसरमा आज देशभर गणेश चतुर्थी पर्व विशेष पूजा–आराधनासहित मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने प्रचलन छ।

शास्त्रीय मान्यताअनुसार सत्ययुगमा यसै दिन भगवान् गणेशको जन्म भएको थियो। यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत विभिन्न गणेश मन्दिरमा भक्तजनले पूजा आराधना गरी गणेशको जन्मोत्सव मनाउने गर्छन्।

शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक संस्कारका सबै कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका (तीज) व्रत गर्ने महिलाले चतुर्थीका दिन गणेश व्रत गरेर जीवनमा विघ्न नआओस् भन्ने कामना गर्ने परम्परा रहेको छ। बिहान तीज व्रतको पारायण गरी मध्याह्नमा गणेशको पूजा–अर्चना तथा अघ्र्य दिने विधि रहेको उनले बताए।

यस दिन नेवार समुदायमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने प्रचलन पनि छ।  राजधानीलगायतका मुख्य शहरमा चतुर्थीको भोलिपल्ट गणेश रथयात्रा निकाल्ने परम्परा शुरु भएको हो। त्यस्तै, विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएकाले यसलाई स्थापना दिवसका रूपमा समेत मनाइन्छ।