काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक नाका खोल्ने सम्बन्धमा भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने स्पष्ट पार्दै आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त विपरित हुने चेतावनी दिएको छ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा रास्वपाले नेपालको प्रत्यक्ष सहमति बिना भएका कुनैपनि सम्झौता स्वीकार्न नसकिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ। नेपाली भू–भागमाथि अन्य देशको कुनैपनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मानिने छैन। यस विपरितका कार्यहरू भए आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त विपरित हुनेमा पार्टी स्पष्ट छ।”
रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत–चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय दृढतापूर्वक उठाइने माग पनि गरेको छ। साथै, हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको र विवाद समाधान सत्तापक्ष–प्रतिपक्षभन्दा बाहिर, कूटनीतिक, शान्तिपूर्ण र प्रभावकारी माध्यमबाट खोजिनुपर्नेतर्फ पार्टी अटल रहेको विज्ञप्तिमा उल्लेख छ।