काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन प्रक्रिया आजदेखि सुरु भएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म समितिको सभापति पदका लागि मनोनयन दर्ता गर्न सकिने छ । मनोनयन दर्ता सकिएलगत्तै आजै साँझ ४ः१५ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ ।
निर्वाचन कार्यतालिका अनुसार भोलि (बुधबार) दिउँसो ३ बजे समितिको बैठक बसेर नयाँ सभापति चयन गरिनेछ ।
समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्न एक सदस्यले अर्को सदस्यको समर्थन लिनुपर्ने व्यवस्था रहेको छ ।
यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादित टिप्पणीपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए ।
संसद् नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने प्रावधान रहेकाले भोलि निर्वाचनमार्फत नयाँ सभापति तय हुने भएको हो ।