शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

मंगलबार, भाद्र १० २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा व्याख्या गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज)–२०८२ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीको सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरे ।

उनले तीजलाई परापूर्वकालदेखि नै महिलाले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो अटल सौभाग्य र समृद्धिको कामना गर्ने, सामाजिक सहिष्णुता र ऐक्यबद्धताको अभिव्यक्ति गर्ने पर्वका रूपमा मनाउँदै आएको बताए । परिवार र समाजमा भ्रातृत्व, आपसी एकता, सदाचार, मेलमिलाप, धैर्य र समर्पण प्रवर्द्धन गर्ने महत्वपूर्ण पर्वका रूपमा तीजको भूमिका रहेको उनको भनाइ छ ।

“महिलाविरुद्ध हुने विभेद, हिंसा र अन्यायको अन्त्य गर्दै सभ्य र समतामूलक समाज निर्माणमा तीज पर्वले सबैमा नयाँ उत्साह जगाउने अपेक्षा गरेको छु,” राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

उनले नारीलाई प्रकृति र सृष्टिको दृष्टिले उच्च स्थानमा रहेको बताउँदै आदर्शमय सामाजिक वातावरण कायम राख्न, सदाचारयुक्त जीवनशैली अंगीकार गर्न र देशको कला–संस्कृतिलाई जगेर्ना गर्न यस्ता मौलिक पर्वलाई सम्मानजनक ढंगले मनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले हरितालिका (तीज)–२०८२ ले महिलाको सम्मानजनक सहभागिता अझ सशक्त रूपमा अघि बढाई सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।