काठमाडौँ । यस वर्षको गौरा पर्व भदौ १५ गते मुख्य दिनका रूपमा मनाइने भएको छ। अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ १२ गतेदेखि पर्व शुरु भई १५ गते प्रमुख दिन मनाइने जानकारी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “गौरा पर्व पर्वतराज हिमालयकी पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिककालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो। यसमा व्रतालु महिलाहरुको प्रमुख भूमिका हुन्छ।”
अठोला पञ्चाङ्ग अनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ। यसै दिन बिरुडा (पञ्च अनाज) भिजाउने “बिरुडा पञ्चमी” पनि रहनेछ।
भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५ः५४ बजेसम्म रहेको छ। यस दिन बिरुडा धुने र नोला (पानीको धारामा) गोरा पुजिने परम्परा रहेको छ। भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहनेछ। यस दिन गौरा भित्र्याउने, गौरा र दुबधागो पूजा आरम्भ हुने छन्।
भदौ १५ गते दुर्वाष्टमी व्रत रहेको छ र यही दिन गौरा पर्वको मुख्य दिन मानिनेछ। अठ्वाली अनुराधा नक्षत्र अपराह्न ३ः५६ बजेसम्म रहनेछ।
गौरा पर्वमा महिलाले मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गर्दै चार दिनसम्म निराहार व्रत बस्छन्, गौरी–महेश्वरको प्रतिमा बनाइ मङ्गलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि पूजा आराधना गर्ने परम्परा रहेको छ।
यस वर्ष महिलाले दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ मानिएको छ। भाद्र शुक्लपक्षमा पर्ने भएकाले नवविवाहित महिलाले उज्याली गोराःमा दुबधागो लगाउन सक्ने अवसर रहेकाले पर्व अझ उल्लासमय हुने विश्वास गरिएको छ।
विज्ञप्तिमा सबै व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइको स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै गौरा पर्वका साथै हरितालिका तीज, गणेश चतुर्थी र ऋषिपञ्चमी पर्वको मंगलमय शुभकामना व्यक्त गरिएको छ।