काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत भएको टिप्पणी गरेका छन्।
आईतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले एमसीसीलाई दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीति अघि बढाउने उपकरणका रूपमा व्याख्या गर्दै यसले नेपाललाई चीन र भारतसँगको भू–राजनीतिक सन्तुलनमा गम्भीर असर पु¥याएको बताए।
उनले सम्झौता संसदबाट “असामान्य ढंगले” पारित भएको दाबी गर्दै छलफलबिनै अनुमोदन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको उल्लङ्घन भएको उल्लेख गरे। खनालका अनुसार, यो प्रक्रिया “आश्चर्यजनक नाटक” सरह भएको थियो।
राजनीतिक दलहरूको दोहोरो भूमिकाका कारण विद्यार्थी, युवा र बुद्धिजीवीहरूले राष्ट्रवादी अडानका कारण कठिनाइ भोग्नुपरेको उनको भनाइ छ।
साथै, एमसीसीले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य बनाउने खतरा रहेको र यसले भारतीय एकाधिकारलाई बलियो बनाउन सक्ने चेतावनी पनि दिए।
खनालले सम्झौताको कार्यान्वयनबारे अझै अस्पष्टता रहनु र संसदमा यसबारे कुनै गम्भीर छलफल नहुनुलाई “आश्चर्यजनक” भने। उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितविपरीतका प्रावधान स्वीकार्य नहुने भन्दै एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।