काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र चीनबीचको लिपुलेक सम्झौताप्रति स्पष्ट विरोध जनाएका छन्। उनले सरकार, संसद्, सत्तापक्ष र प्रतिपक्ष सबैलाई एकजुट भएर देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा गर्न आवश्यक रहेको बताए।
शर्माले भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति विरोध जनाउँदै प्रधानमन्त्री भ्रमणका बेला उठाउनुपर्ने विषयबारे सुझाउँदै लेखेका छन्, ‘ऎतिहासिक तथ्यहरुका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी । प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश l’
शर्माले छबुँदे प्रस्ताव अघि सारेका छन्:
सर्वदलीय/सर्वपक्षीय बैठक सरकारको आह्वानमा आयोजना गर्ने।
बैठकमार्फत घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण गर्ने।
संसद्ले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेको ‘चुच्चे नक्सा’ प्रति देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा थप स्पष्टता दिने।
भारत र चीनबीच १५ मे २०१५ मा भएको अघिल्लो सम्झौता र नेपालले पठाएको कूटनैतिक नोटलाई स्मरण गर्दै, पछिल्लो सम्झौताप्रति पुनः कूटनैतिक नोट पठाउने।
ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी; प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गराउने।
नेपाल–भारत सीमा र सम्बन्धबारे प्रबुद्ध समूह (EPG) द्वारा सात वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्ने र त्यसलाई आधार बनाएर अन्य विषयहरू समाधान गर्ने।