शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै, वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि सम्बोधन गर्ने  

बिहिबार, भाद्र ५ २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै राजनीतिक गतिविधि अघि बढाउने तयारी सुरु गरेकी छन्।   उनले आफ्नो राजनीतिक उपस्थितिलाई मजबुत बनाउन यो कदम चालेकी हुन्।

एमालेको नेतृत्व गर्ने लक्ष्यसहित गत असार १४ मा राजनीतिमा आउने घोषणा गरेकी विद्याले पछिल्लो समय आफ्ना राजनितिक गतिविधिलाई तीव्रता दिँदै आएकी छन् ।

यो कार्यालय बानेश्वर–थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको चार तले रातो भवनमा स्थापना गरिएको छ। भवनलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रूपमा नामकरण गरिएको छ।

दिउँसो २ बजे राखिएको उद्घाटन कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ।

कार्यक्रमका लागि एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ। केही नेतालाई हातैमा, नभेटिएका नेतालाई केन्द्रीय कार्यालय सचिवमार्फत निम्तो थमाइएको छ।

भण्डारीले रोजेको यो सम्पर्क कार्यालयको भवन ऐतिहासिक महत्व पनि राख्छ। २०४८ सालको निर्वाचनमा मदन भण्डारीले यही घरबाट प्रचार–प्रसार गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए। २०५१ सालमा विद्यादेवी स्वयंले पनि यही घरबाट चुनाव प्रचार सञ्चालन गरेकी थिइन्।

एमालेले राजनीतिक गतिविधीमा राेक लगाए पनि भण्डारी दैनिक रूपमा कार्यालयमा उपस्थित भएर नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाट गर्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाउने योजना बनाएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले फेरि राजनीतिक कम्ब्याक गर्ने तयारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले त्यसलाई अस्वीकार गरेको छ।

“एमालेले आफ्नो नेतृत्व संरचना र रणनीतिक निर्णय प्रक्रियामा कुनै बाह्य हस्तक्षेप स्वीकार्दैन। विद्या भण्डारीको राजनीतिक कम्ब्याक पार्टीको निर्णय प्रक्रिया र संगठनात्मक सन्तुलनसँग मेल खाँदैन।” एमालेले भनिसकेकाे छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टी भित्र सक्रिय राजनीतिमा फर्किन अनुमति नहुने निर्णय गरेको थियो। बैठकले पार्टीको नेतृत्व संरचना र संगठनात्मक सन्तुलनलाई ध्यानमा राख्दै यो निर्णय गरेको बताइसकेको छ ।