शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिन बस्याे समितिको बैठक

बिहिबार, भाद्र ५ २०८२

काठमाडौँ । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बैठक बिहान ८ बजे बस्ने तय भए पनि केही ढिला गरी सुरु भएको हो। आजको कार्यसूचीअनुसार विवादित विषयमा टुंगो लगाएर विधेयक पारित गर्ने योजना रहेको छ।

समितिले यसअघि विवादित विषयलाई थाँती राख्दै प्रतिवेदन तयार गरेको थियो। मुख्य विवाद निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने व्यवस्थासँग सम्बन्धित छ। यस कारण निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरु गरेका छन्।

बैठकमा समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र १०–१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्थामा सहमति जुटाएको छ। शिक्षामन्त्री रघुजी पन्तले २.५० प्रतिशत विद्यार्थीलाई आवास सुविधा उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका थिए भने कतिपय सांसदहरूले १० प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने धारणा राखेका छन्।

केही सांसदहरूले निश्चित समयावधि तोकेर निजी विद्यालयलाई गैरनाफामूलक गुठीमा लैजानुपर्ने संशोधन दर्ता गरेका थिए। तर समितिले वर्ष तोकेर नभई क्रमशः गैरनाफामूलक बनाउँदै लैजानेमा सहमति जनाएको छ।

निजी विद्यालय सञ्चालकहरूले भने कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउन, पूर्ण छात्रवृत्तिमा पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउने व्यवस्था राख्न, तथा छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहको सट्टा विद्यालयले दिने व्यवस्था लागू गर्नुपर्ने माग राखेका छन्।

सरुवा व्यवस्थाप्रति पनि शिक्षकहरू असन्तुष्ट छन्। नवप्रवेशी शिक्षकहरूले अन्तरप्रदेश र अन्तरपालिका सरुवाको समयसम्बन्धी असन्तुष्टि जनाएका छन्। विधेयक पारितमा ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलनको चेतावनी दिएको छ।