काठमाडाैं । राजनीतिमा चार दशकभन्दा बढी बिताएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि देशको केन्द्रविन्दुमा आफूलाई अनिवार्य मानिरहेका देखिन्छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उनले बोलेको एक वाक्य– “मैले राजनीति छोडे भने देश गर्ल्यामगुर्लुम्मै हुन्छ जस्तो लाग्छ” –ले उनको राजनीतिक आत्मविश्वास मात्र होइन, भावुकता पनि प्रस्ट पार्छ ।
प्रचण्डले स्वीकारेझैँ, दिनदिनैको राजनीतिक चटारोले त्यतातिर समय दिन पाएका छैनन् । प्रचण्डको भित्री चाहना कलम समाउने रहेछ, तर वास्तविकता भने निरन्तर सत्ताको चक्रभित्रै घुम्ने बन्दै आएको छ । यो स्वीकारोक्ति उनले राजनीतिले व्यक्तिगत इच्छालाई कसरी ओझेल पारिदिन्छ भन्ने सन्देश पनि दिन्छ ।
प्रचण्डको भनाइमा देशको राजनीतिक खाँबो आफूले धानेको महसुस हुन्छ । मानौँ, उनको काँधबाट त्यो बोझ झरे देशको स्तम्भ ढलिहाल्छ । यस्तो दाबी कुनै नेताको आत्ममुग्धता हो कि वास्तविकतामा आधारित चिन्ता—यो बहसको विषय बन्न सक्छ । तर उनले गरेको आत्मस्वीकृति भने पार्टीभित्रमात्र होइन पुरै राजनीतिमा आफ्नो अपरिहार्यता रहेको भ्रम देखिन्छ ।
यो विश्वास हो वा भ्रम, प्रचण्डको मनस्थितिले भने एउटा कुरा देखाउँछ : नेताको जीवन व्यक्तिगत मात्र हुँदैन, राष्ट्रसँग गाँसिएको हुन्छ । र, त्यस गँसाइले कहिलेकाहीँ आफूलाई ‘अपरिहार्य’ ठान्ने मनोविज्ञान पनि सिर्जना गर्छ । राजनीतिको खाँबो आफूले मात्र धानेको अनुभूति हुनु, अरु नेतृत्व क्षमता र संस्थागत संरचना गौण ठान्नु—यो नै नेतृत्व मोहको स्पष्ट संकेत हो ।
नेपालमा प्रचण्ड एक शक्तिशाली राजनीतिक पात्र हुन् । तर लोकतन्त्रको आत्मा भने संस्थागत संरचना र वैकल्पिक नेतृत्व उत्पादन क्षमतामा हुन्छ, व्यक्तिको निरन्तर उपस्थितिमा होइन ।
प्रचण्डको भनाइलाई केवल भावुकता भन्न सकिन्छ, तर त्यसमा गहिरो नेतृत्व मोह मिसिएको देखिन्छ । देशको राजनीति एक व्यक्तिले धान्ने होइन, प्रणालीले धान्ने हो भन्ने यथार्थ स्वीकार्न सके मात्र नेतृत्व मोह घट्छ र लोकतन्त्र सबल हुन्छ ।
राजनीतिमा मात्र होइन प्रचण्डले आफ्नो पार्टीभित्र नयाँ पुस्ता तयार गर्न सकेनन् वा चाहँदैनन्। वैकल्पिक नेतृत्वलाई अघि बढाउनुभन्दा आफैँलाई केन्द्रमा राख्ने प्रवृत्तिले उत्तराधिकारीको खालीपन छोडेको छ । यसैले, उनलाई उनले नेतृत्व छाडे पार्टी नै भत्किने डर मात्र होइन त्यसको छाल आफैँ कुनै दिन जेल भित्र बस्नु पर्ने आशंकासमेत छ ।
यसैपनि प्रचण्ड माओवादी जनयुद्धको नेतृत्व गरेका कारण आफूलाई ‘इतिहास निर्माण गर्ने’ नेताका रुपमा ठान्छन् । त्यस्तो नेतृत्व एकै पटक छोड्नु भनेको आफ्नै योगदानलाई ओझेलमा पार्नु ठान्छन् । राजनीतिक नेतृत्वमा रहँदा हैसियत मात्र होइन, कानुनी–राजनीतिक सुरक्षा पनि सुनिश्चित भएकै कारण बरु ‘पिपलपाते’ व्यवहार देखाएर भएपनि उनी सत्ता वरिपरि नै रहन तयार छन् ।
नेतृत्वमा रहँदा उनले केवल राजनीतिक शक्ति मात्र होइन, व्यक्तिगत सुरक्षा र राजनीतिक हैसियत पनि सुनिश्चित भएको महसुस गरिरहेका छन् । युद्धकालीन मुद्दा, विवादास्पद निर्णय र राजनीतिक उतारचढावबीच नेतृत्व छाड्दा उनी कमजोर हुने भय पनि छ।
प्रचण्डले भनेझैँ, ‘मैले राजनीति छाडे भने देश गर्ल्यामगुर्लुम्म ढलिहाल्छ जस्तो लाग्छ’ भन्ने अभिव्यक्ति नेतृत्व मोहको मनोवैज्ञानिक रुप हो । लामो समयसम्म सत्ताको केन्द्रमा रहँदा नेता आफैंलाई राष्ट्रको पर्यायवाची ठान्ने प्रचलन नै हुन्छ ।