शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि र प्रचण्डको भेटप्रति महेश बस्नेतको व्यंग्य : स्मार्ट ठगले नानीको बालाई नख्खुमै बोलाएछन् !

बिहिबार, भाद्र ५ २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटबारे सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् ।

सहकारी प्रकरणमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’ भन्दै आएका बस्नेतले प्रचण्ड’ लाई ‘नानीको बा’ संबोधन गर्दै टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, “‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका वालाई राजनीतिबाट निकाल्छु भन्थे । विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन्।”

भैरहवा कारागारबाट हालै नख्खु कारागारमा स्थानान्तरण भएका लामिछानेबारे यसअघि पनि बस्नेतले सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रवि लामिछानेलाई ‘प्रचण्ड’ले बुधबार नख्खु कारागार पुगेर भेट गरेका थिए ।

उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राखेको बुझिएको छ ।

थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको दाहालको सचिवालयले जनाएको छ ।