काठमाडौँ । नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा भदौ १३ गते बिहान ११ बजे बस्ने बैठकबारे कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि छलफल हुनेछ । उक्त प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन् । विधान संशोधनका लागि मातहतका कमिटीलाई सुझाव पठाउन भदौ १० गतेसम्मको समयसीमा दिइएको छ । ती सुझाव संकलन गरी प्रतिवेदन तयार पारेर बैठकमा पेस गरिने र छलफलपछि पारित गरिने डा. अधिकारीले बताए ।
यसअघि एमालेको नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।
दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुनेछ । महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी कुल दुई हजार ३९२ जनाको सहभागिता रहनेछ ।