काभ्रेपलाञ्चोक । करिब ५० वर्षदेखि लालपूर्जाको प्रतीक्षामा रहेका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले अन्ततः जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार वितरण कार्यक्रमको शुभारम्भ गरे ।
विसं २०३२ यता लालपूर्जाको आशामा रहेका वडा नं. ७ र ८ का ४३१ जग्गाधनीलाई पहिलो चरणमा लालपूर्जा दिइएको हो। यसमध्ये वडा ७ का १८५ र वडा ८ का २४६ जग्गाधनीलाई मंगलबार प्रमाणपूर्जा वितरण गरिएको नापी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
यसका लागि २०७१ सालदेखि नापी कार्यालयले काम सुरु गरेको थियो। २०७६ मंसिरमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भुम्लुमा फिल्ड कार्यालयको उद्घाटन गरेपछि प्रक्रिया अघि बढेको थियो।
हालसम्म करिब ४५० लालपूर्जा बनेका छन् भने बाँकी पनि छानबिनपछि क्रमशः वितरण गरिने कार्यालय प्रमुख अशोककुमार भुसालले जानकारी दिए। उनका अनुसार वडा ७ मा झण्डै ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको छ।
यो क्षेत्र साविकको पिपलटार गाविस फुटेपछि भुम्लुटार र फलाँटे गाविसमा बाँडिएको थियो। खेतयोग्य जमिन दुवै पक्षले दाबी गरेपछि २०३२ सालमै सुरु भएको नापी रोकिएको र त्यसपछि विवादकै कारण २०३५ सालमा पनि काम अघि बढ्न नसकेकाले स्थानीयले दशकौँसम्म लालपूर्जा पाउन सकेका थिए।