काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज मधेशी मोर्चाका शीर्ष नेताहरूसँग सामूहिक भेट गर्ने भएका छन्।
दिउँसो १२ः३० बजे हुने लञ्च मिटिङमा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरी सहभागी हुने जनाइएको छ। भेटघाटको औपचारिक कार्यतालिका नबने पनि विशेष छलफलका लागि लञ्च बैठक तय गरिएको स्रोतले जनाएको छ।
मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार बिहान काठमाडौं आएका थिए। आगमनको पहिलो दिन उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु देउवा राणासँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
सिंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरेपछि उनी शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट्न पुगेका थिए। त्यहाँबाट बुढानीलकण्ठस्थित देउवा निवासमा गएर कांग्रेस सभापति देउवासँग भेट गरेका थिए। त्यसपछि खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गरेका थिए।
मधेशी दलका नेताहरूसँगको भेटपछि दिउँसो २ः३० बजे मिश्री दिल्ली फर्किने कार्यक्रम रहेको छ।