आशिफको अर्धशतकले पनि नेपाललाई जित दिलाउन सकेन
काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकले पनि नेपाललाई जित दिलाउन सकेन। टप इन्ड टी–२० सिरिजमा सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भयो। यो यस श्रृंखलामा नेपालको लगातार तेस्रो हार हो।
यसअघि नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो। आशिफले सर्वाधिक ५३ रन जोडे। उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन बनाए भने कुशल भुर्तेलले २५ रन थपे। कुशल मल्ल ११ रनमा आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे। बलिङतर्फ मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई–दुई विकेट लिए।
यसअघि डार्विनस्थित टिआइओ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन बनाएको थियो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ४७ बलमा सात चौका र दुई छक्कासहित ७४ रन बनाए भने थोमस रोजर्सले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन जोडे। यी दुबै ओपनरले दोस्रो विकेटका लागि १२२ रनको साझेदारी गरेका थिए।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमले एक–एक विकेट हात पारे।