आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपिनको रिहाइकाे माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति

सोमबार, भाद्र २ २०८२

काठमाडौं । हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको पहलमा भएको उक्त भेटमा विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि उनीहरूले आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार विपिनको मुक्तिको प्रयोजनका लागि परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ। यसअघि पनि उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग टेलिफोनमार्फत छलफल गरी विपिनको रिहाइबारे ध्यानाकर्षण गराएका थिए।

ओलीले भनेका छन्, “सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै सबै सम्भावित माध्यममार्फत पहल गरिरहेको छ।” उनले यस प्रक्रियामा सहयोग पु-याइरहेका नेपाली समुदाय, इजरायली नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद समेत व्यक्त गरेका छन्।

कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्। उनी २०८० भदौ अन्त्यतिर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत काम र अध्ययनका लागि इजरायल गएका थिए।

तर २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा अन्य नागरिकसँगै विपिनलाई पनि गाजामा बन्धक बनाएको बताइन्छ। २०८० असोज २० पछि परिवारसँग उनको सम्पर्क भएको छैन। विपिन हाल हमासको कब्जामा नै रहेको भनिए पनि उनी जीवित छन् वा छैनन् भन्नेबारे अझै प्रष्ट प्रमाण प्राप्त भएको छैन।