आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कवि तथा संगितकार विनोद नन्दनको निधन

सोमबार, भाद्र २ २०८२

काठमाडाैं ।   कवि तथा संगीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेज, भरतपुरमा उपचाररत नन्दनले आइतबार अन्तिम श्वास फेरेका हुन्।

नारायणी कला मन्दिरका पूर्व अध्यक्ष अमर प्रधानका अनुसार उनी लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए।

वि.सं. २०११ मा ‘झटारो’ गीतिसंग्रह प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गरेका नन्दनका गजल, कविता तथा काव्य कृतिहरू प्रकाशित छन्। उनका गीति तथा काव्य संग्रहमा अञ्जली (२०२३), सपनीबाट ब्यूझेर (२०२३), विपनीका पाइला (२०५२), ऐनाभित्रको आकाश (२०६३), सिद्धार्थको ग्रहत्याग (लघुकाव्य, २०७४) र पत्रम् पुष्पम् (कविता संग्रह, २०७७) प्रमुख छन्। उनले बागेश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका पत्रिका सम्पादन गरेका थिए। साथै, उनी गायक, संगीतकार र कलाकारका रूपमा पनि परिचित थिए।

वि.सं. १९९२ जेठ १९ गते तनहुँ, बन्दीपुरमा जन्मिएका नन्दन पछिल्लो जीवन नारायणगढ, चितवनमा बिताएका थिए।

उनको अन्त्येष्टि सोमबार देवघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। अन्त्येष्टिअघि बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा श्रद्धाञ्जली कार्यक्रम हुने बताइएको छ। उनले श्रीमती, तीन छोरा र तीन छोरीलाई परिवारमा छोडी गएका छन्।