आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भारतीय विदेशसचिव मिस्री आज दिनभर व्यस्त, यस्तो छ तालिका

आइतबार, भाद्र १ २०८२

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आएका हुन् ।

उनले १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

देउवासँगको भेटपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायतसँग महत्वपूर्ण भेटघाट आजै गर्ने कार्यक्रम रहेको छ ।

उनी भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।