आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजीको तयारीमा काठमाडौँ महानगर

शनिबार, साउन ३१ २०८२

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले दर्ता भए पनि सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजी गर्न तयारी थालेको छ।

कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ। उपप्रमुख सुनिता डङ्गोलका अनुसार, वैकल्पिक विद्यालय महिला ज्योति, जायना र जेम्स नमूना विद्यालयको स्थानान्तरण अनुमति दिइएको छ भने २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति प्रदान गरिएको छ।

कामपाको शिक्षा समितिमा सामुदायिक र संस्थागत विद्यालयको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरण जस्ता विषय छलफल भइरहेको छ।

शैक्षिक सत्र २०८२ देखि रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ। साथै, पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारामा कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्ने अनुमति प्रदान गरिएको छ।

संस्थागत विद्यालयको कक्षा र विषय थपका लागि १२ विद्यालयलाई अनुमति दिने तयारी भइरहेको छ भने नाम परिवर्तनका लागि कागजात पेश गरेका २१ विद्यालयलाई अनुमति दिइएको छ। संस्थागत विद्यालयको स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेश गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ।

आर्थिक वर्ष २०८२ र ८३ को शिक्षा बजेट र बुक फ्रि फ्राइडे कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनको प्रतिवेदन १५ दिनभित्र शिक्षा तथा स्वास्थ्य समितिलाई पेश गर्ने तयारी पनि कामपाले गरेको छ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। यस कार्यदलले विद्यालय सञ्चालनका मापदण्ड, सामाजिक र स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका सुझावसहित प्रतिवेदन पेश गर्नेछ। प्रारम्भिक बाल विकासको अभिलेखीकरणका लागि शिक्षा विभागले अध्ययन गरी आवश्यक कदम चाल्ने कामपाले जनाएको छ।