सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय रामपुकार राय यादव रहेका छन् ।
प्रहरी नायब उपरीक्षक (प्रवक्ता) सरोज राईका अनुसार शुक्रबार साँझ आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवलाई लक्षित गरी गोली प्रहार गरेका थिए । पेस्तोलबाट टाउकोमा लागेको गोलीका कारण गम्भीर घाइते भएका यादवको महोत्तरीको सोनामा गाउँपालिका–पर्सास्थित एक स्वास्थ्य संस्थामा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका भनाइअनुसार, दुई जना अपरिचित व्यक्तिले “रामपुकार को ?” भनी सोधपुछ गरेपछि नै गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने व्यक्तिमध्ये एकजना भाग्ने क्रममा हरिपुर्वा नगरपालिका–बसन्तपुरमा दुर्घटनामा परेर घाइते भएका छन् ।
उनलाई जनकपुरमा प्रहरी निगरानीमा राखी उपचार भइरहेको छ भने अर्को व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नहरूको पहिचान भइसकेको र अनुसन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ ।