आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

श्रीकृष्णजन्माष्टमी अवसरमा देशभरका मन्दिरमा भक्तजनको घुइँचो

शनिबार, साउन ३१ २०८२

काठमाडौँ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा आज बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम लागेको छ ।

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटारस्थित नवतनधाम, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) परिसरको कृष्णमन्दिरमा ठूलो संख्यामा श्रद्धालुहरूको भीड देखिएको छ ।

त्यस्तै, राजधानीका पशुपति क्षेत्र, वसन्तपुर दरबार क्षेत्रमा रहेका कृष्णमन्दिरसहित उपत्यकाका चोक, गल्ली र कुनाकाप्चामा रहेका नारायण तथा लक्ष्मीनारायण मन्दिरहरूमा समेत भक्तजनको घुइँचो लागेको छ ।

वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन, प्रवचन तथा व्रत गरी श्रद्धापूर्वक पर्व मनाउने गरेका छन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको जन्मदिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र सो रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

सत्य, धर्म र सत्कर्मको पक्षमा जीवन बिताएका श्रीकृष्णले अन्याय र अधर्मको अन्त्य गर्न मानव रूप धारण गरेको धार्मिक विश्वास छ । कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई दिनुभएको उपदेश ‘श्रीमद्भगवद्गीता’ आजसम्म विश्वकै सर्वाधिक भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ ।

बाल्यकालमै विभिन्न लीला प्रदर्शन गरेका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको नाश गर्नुभएको कथा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

यस अवसरमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा आयोजना गर्ने परम्परा छ । कतिपय स्थानमा आजै रथयात्रा निकालिने भए पनि अष्टमीको मध्यरातमा जन्म भएकाले भाद्र कृष्ण नवमीका दिन रथयात्रा गर्ने चलन रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।