पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी र हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुसार राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी, दलित, महिला, मुस्लिम, पिछडिएका क्षेत्र र वर्गको सशक्तीकरणमा निरन्तर क्रियाशील रहेको बताए ।
देउवाका अनुसार, देशको तेस्रो ठूलो जनसंख्या भएको मगर जाति आदिवासी समुदायभित्र सबैभन्दा ठूलो जनसंख्यामा रहेको जाति हो। मगर समुदायलाई नेपाली कांग्रेससँग जोड्न तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले अलोकतन्त्रवादी मगरलाई सङ्गठित गर्न बलियो भ्रातृ संस्थाको आवश्यकता महसुस गर्दै २०६४ सालमा नेपाल राष्ट्रिय मगर सङ्घ गठन गर्नुभएको थियो।
उनले नेपाल राष्ट्रिय मगर सङ्घले पार्टीका अन्य संस्थाभन्दा पहिले सङ्घीयताअनुरूप साङ्गठनिक संरचना निर्माण गरी दोस्रो महाधिवेशन सम्पन्न गरेको स्मरण गर्नुभयो। साथै, मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान र सशक्तीकरणका लागि आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बीपी कोइरालाले सुरु गरेको समावेशीकरणमा योगदान पुर्याएको बताए ।
देउवाले पार्टीभित्र पछाडि परेका जातजाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायका अधिकार र सहभागिता सुनिश्चित गर्दै ‘कदमजम’ अभियान अङ्गीकार गरी नेपाली कांग्रेसलाई देशकै समावेशी पार्टीका रूपमा विकास गरेकोमा जोड दिए ।
सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त ऐतिहासिक उपलब्धिहरू—गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको पनि बताए ।
नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भई नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।