'जे पाउनु भएन, त्यसका लागि पश्चाताप गर्नु पर्दैन'
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाको विदेश प्रस्थानप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
मिश्रले सामाजिक सञ्जालमार्फत लेख्दै, आफू र कोइरालाबीच राजनीतिक विषयमा कहिल्यै मेल नखाएको र उनीबाट सामाजिक सञ्जालमा निरन्तर आलोचना भोगेको स्मरण गरे। मिश्रका अनुसार, परिस्थिती यति बिग्रियो कि उनीहरूले एकअर्कालाई ट्विटरमा ब्लकसमेत गरेका थिए।
तर, कोइरालाले सरकारी तलबमै बसेर लामो समयसम्म सरकारी अस्पतालमा सेवा दिँदै विदेशमा उच्च आम्दानीको अवसर त्याग्नु प्रशंसनीय भएको मिश्रको भनाइ छ। “हण्डर–ठक्कर सहेर, विदेशमा महिनामा दशौँ लाख कमाउन सक्ने अवसर त्यागेर नेपालमै सेवा गर्ने उहाँजस्तो व्यक्ति दुर्लभ हुन्छ। उहाँको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन,” मिश्रले लेखे।
उनी भन्छन्, “रामेशजी, जीवन एकपटकको मात्र हो। तपाईंले असाधारण स्तरको सार्वजनिक सेवा गर्नुभयो। जे पाउनु भएन, त्यसका लागि पश्चाताप गर्नु पर्दैन।” उनले भनेका छन्, यस्ता अवस्थाको सिर्जनामा कोइरालाजस्ता चरम राजनीतिक आग्रहसमेत जिम्मेवार छन्।
मिश्रले नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क प्रस्तुत गर्दै सन् २०२१ देखि २०२५ सम्म ८,६२४ नयाँ चिकित्सक दर्ता भएको र तीमध्ये ६,३६८ जनाले विदेश जाने हेतुले ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएको तथ्य सार्वजनिक गरे।
अन्त्यमा, मिश्रले कोइरालालाई जहाँ भए पनि खुशी र सुखी रहोस् भन्ने शुभकामना दिँदै, भविष्यमा विगतका तिक्तताहरूलाई स्मरण गर्दै हास्न सक्ने दिन आउने आशा व्यक्त गरे।