काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आधिकारिक नेतृत्व नफेरिने भएको छ ।
निर्वाचन आयोगले पार्टीका संरक्षक रेशम चौधरीले प्रस्ताव गरेका नयाँ अध्यक्ष लालवीर चौधरीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने भएकी छन्।
केही समयअघि रेशम चौधरीले राष्ट्रिय भेला र केन्द्रीय समिति बैठकको आधारमा रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेका थिए। सो निर्णय दर्ताका लागि निर्वाचन आयोगमा पठाइए पनि, आयोगले मंगलबार राति भएको निर्णयअनुसार नयाँ अध्यक्षको दाबी अस्वीकार गरेको हो।
यससँगै नाउपाको नेतृत्व फेरिने प्रक्रिया रोकिएको छ। आयोगको आधिकारिक पत्र पार्टीले अहिलेसम्म नपाए पनि आजै प्राप्त हुने अनुमान गरिएको छ।