आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मल अभावबारे तीन दिनभित्र ठोस कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

बुधबार, साउन २८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर रासायनिक मलको अभावबारे बढ्दो गुनासोको बीचमा कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई तीन दिनभित्र प्रभावकारी वितरणको ठोस प्रस्तावसहित उपस्थित हुन निर्देशन दिएका छन्।

मंगलवार सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भएको बैठकमा प्रधानमन्त्री ओलीले मलको उपलब्धता, आपूर्ति र वितरण प्रणालीबारे गहन छलफल गरेका हुन्। बैठकमा ओलीले आवश्यक मात्रामा मल किन उपलब्ध हुन नसकेको र उपलब्ध मल पनि प्रभावकारी रूपमा वितरण किन नहुनेबारे प्रश्न उठाएका थिए।

उद्योग मन्त्री भण्डारीका अनुसार, अहिले पनि मलको आयात भइरहेको र भण्डारण उपलब्ध भए पनि वितरण प्रक्रिया अपेक्षित स्तरमा पुग्न सकेको छैन। यसलाई सुधार गर्न तीन दिनभित्र ठोस कार्ययोजना ल्याउन कृषि मन्त्रालयलाई निर्देशन दिइएको छ।

प्रधानमन्त्री ओलीले नेपालमै मल उत्पादन गर्ने दीर्घकालीन समाधानका लागि मल कारखाना स्थापना गर्ने तयारी तुरुन्त अघि बढाउन उद्योग मन्त्रालयलाई पनि आदेश दिएका छन्।