काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई भविष्यको मात्र नभई वर्तमानमै राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले युवाको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको बताए।
उनका अनुसार, गरिबी, असमानता, जलवायु परिवर्तन लगायतका वैश्विक चुनौती समाधान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न युवाको पहल निर्णायक हुन्छ। उनले नेपाली युवाहरू सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा अग्रसर हुने विश्वास व्यक्त गरे।
प्रचण्डले आफ्नो युवावस्थामा युवा संघको अध्यक्षदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्मको यात्रा र ऐतिहासिक जनयुद्धको नेतृत्वको अनुभव स्मरण गर्दै, त्यस संघर्षले सामन्तवादको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना मात्र नभई उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने उपलब्धि दिलाएको उल्लेख गरे।
उनका अनुसार, माओवादी नेतृत्वको सरकारले युवालाई सबल बनाउन युवा स्वरोजगार कोष स्थापना, राष्ट्रिय युवा परिषद् गठन, युवा उद्यमशीलता कार्यक्रम सञ्चालन, सीप तथा तालिम प्रदान, लगानी पहुँच विस्तार, र नवप्रवर्तनकारी युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान सुरु गरेको छ।
अन्त्यमा, उनले सम्पूर्ण युवालाई आफ्नो सीप, ऊर्जा र विचारलाई जनताको पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि प्रयोग गर्न आह्वान गरे।