काठमाडौं । पशुपति आर्यघाटमा एक व्यक्तिको शवबाट मासुको टुक्रा निकालिएको घटनामा पक्राउ परेका घाटे ब्राह्मण गणेश ढकालले आरोप स्वीकार गरेका छन्।
प्रहरीसँगको बयानमा उनले एक व्यक्तिले पूजा गर्नुपर्ने भन्दै माग गरेपछि कपुरको डब्बामा खुट्टाको मासुको टुक्रा र खरानी राखेर दिएको बताएका छन्।
गत शुक्रबार काभ्रेको बनेपा–९ निवासी राम शाहीको दाहसंस्कार भइरहेको क्रममा शवबाट मासुको टुक्रा र खरानी बिक्री गरेको आरोपमा ढकाल र उनका सहयोगी, उदयपुरका विनायक मैनालीलाई प्रहरीले पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखेर सोधपुछ गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी स्वयं वृत्तमा पुगेर दुवै अभियुक्तमाथि बयान लिएका छन्।
यसबीच, शवबाट हड्डी निकाल्ने आरोपमा संलग्न भएको अभियोगमा पक्राउ परेका यी दुई जनाको म्याद जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन थप गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन्।