आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

मंगलबार, साउन २७ २०८२

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्।

अपराह्न ४ बजे बस्ने बैठकको कार्यसूचीमा उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस बागमती प्रदेश सभापति बानियाँलाई नेपाली कांग्रेस र नेकपा (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको समर्थन छ। नियुक्ति भएको एक सातापछि उनी विश्वासको मतका लागि प्रस्तुत हुन लागेका हुन्।

संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बानियाँले प्रस्ताव अघि बढाएका हुन्।

यससँगै सत्तारूढ नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले संयुक्त रूपमा सूचना जारी गरेका हुन्।