काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन्। उनले तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आयात प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् कृषकहरूलाई मल आपूर्तिबारे जानकारी दिँदै आवश्यक परेमा सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरे। “खेतबारी हराभरा बनाऔं,” भन्दै उनले कृषकहरूलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न सुझाव दिएका छन्।
कृषि मन्त्रालयका अनुसार हाल कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ।
जसमा—
युरिया : १६,५३९ मेट्रिक टन
डीएपी : ७,६५३ मेट्रिक टन
पोटास : ४,९१५ मेट्रिक टन
त्यस्तै, साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ।
जसमा—
युरिया : १०,९८४ मेट्रिक टन
डीएपी : ९४२ मेट्रिक टन
पोटास : १,७८५ मेट्रिक टन
सरकारले मल आपूर्ति सहज बनाउन आवश्यक प्रक्रिया अघि बढाइरहेको र कृषकलाई सहज वितरण सुनिश्चित गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।