आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

आइतबार, साउन २५ २०८२

पर्सा । पर्सा जिल्ला ठोरी गाउँपालिका–४ मालीबस्ती नजिकै पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

शुक्रबार बिहान करिब ७:३० बजे भारततर्फ जाने बाटोमा, हुलाकी सडकबाट झण्डै ५०० मिटर दक्षिणतर्फ बाघ मृत अवस्थामा भेटिएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिएका छन्।

स्थानीयवासीले दिएको सूचनापछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको नेतृत्वमा टोली घटनास्थलमा पुगेको हो। साथै पर्सा राष्ट्रिय निकुञ्जको आधारभूत कार्यालय र नेपाली सबुज गणको टोली पनि अनुसन्धानका लागि खटिएको प्रहरीले जनाएको छ।

निकुञ्जका रेञ्जर जयराम न्यौपानेका अनुसार मृत बाघको मुचुल्का तयार पारेर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको छ। बाघको बाहिरी भागमा सामान्य चोटपटक देखिएको भए पनि कारण के हो भन्ने कुरा परीक्षणपछि मात्र पुष्टि हुने उनले बताएका छन्।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकीबाट करिब चार किलोमिटर टाढा पर्छ। बाघको मृत्यु आपसी जुधाइका कारण हो वा अन्य कारणले भएको हो भन्नेबारे विस्तृत रिपोर्टपछि मात्र थाहा हुने जनाइएको छ।