काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हाल देखिएका आन्तरिक विवादका बाबजुद पार्टी विभाजनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
उनका अनुसार विगतमा असन्तुष्ट भएलगत्तै पार्टी फुटाउने प्रवृत्ति रहे पनि आफ्नो कार्यकालमा त्यो समाप्त भइसकेको छ र अब कसैले विभाजन गर्ने तागत राख्दैन।
अध्यक्ष लिङदेनले पार्टीभित्रका समस्या आपसी छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले असहमति भएका विषय समितिहरुमा उठाउन सकिने, निष्कर्षमा सहमत नभए महाधिवेशनमार्फत नेतृत्वमाथि नै चुनौती दिन सकिने व्यवस्था रहेको बताए। तर, आन्तरिक विषय सञ्चारमाध्यममा लैजाने वा शुभेच्छुकहरूमा भ्रम सिर्जना गर्ने कार्य अनुचित हुने उनको भनाइ छ।
असन्तुष्ट पक्षले अध्यक्षले विधानविपरीत जिम्मेवारी हेरफेर गरेको आरोपको खण्डन गर्दै लिङदेनले विधानले नै अध्यक्षलाई विभाग गठन, जिम्मेवारी बाँडफाँड तथा पदाधिकारी तोक्ने अधिकार दिएको स्मरण गराएका छन्। उनका अनुसार यसअघि पनि नियमित रूपमा विभाग तथा जिम्मेवारी हेरफेर हुँदै आएको हो र यसपटक पनि सोही प्रक्रिया अनुसार गरिएको हो।
नेपालको भूराजनितिक परिस्थिति हेर्दा अभिभावक संस्थाका रूपमा राजसंस्था उपयुक्त हुने दाबी गर्दै अध्यक्ष लिङदेनले पछिल्लो समय राजसंस्थाको पक्षमा जनमत र माहोल बन्दै गएको बताए। उनका अनुसार राजसंस्था पक्षधर शक्तिहरु क्रमशः एकजुट हुँदै गइरहेका छन् र जेठ १५ गतेको कार्यक्रमले सकारात्मक सन्देश दिएको छ।
अध्यक्ष लिङदेनले पार्टीबाट कसैलाई निस्कासन वा कारबाही नगरेको, अध्यक्षले मनोनित गर्ने पदमा परिवर्तन गर्ने परम्परा पूर्वदेखि रहिआएको पनि प्रष्ट पारे।
साथै, पार्टीको प्रवक्ता, विभाग प्रमुख वा सदस्य सचिव तोक्ने कार्य निर्वाचन आयोगको अधिकार क्षेत्र नभई अध्यक्षको जिम्मेवारी भएको उनको भनाइ छ।