काठमाडौं । नेपाल निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दलहरूको स्वमूल्यांकन कार्यविधि, २०८१’ को मस्यौदामाथि सार्वजनिक सुझाव दिन आज अन्तिम दिन हो।
निर्वाचन आयोगले राजनीतिक दलको आन्तरिक लोकतन्त्र, पारदर्शिता, वित्तीय जवाफदेहिता र कार्यसम्पादनको मूल्याङ्कन गर्ने उद्देश्यसहित कार्यविधिको मस्यौदा सार्वजनिक गरेको थियो।
यस मस्यौदामा दलहरूले हरेक वर्ष आफूले पुर्याएको संगठनात्मक विकास, आन्तरिक निर्वाचन, महिला दलित/जनजातिको सहभागिता, नीति निर्माण प्रक्रिया, आर्थिक पारदर्शिता आदिको आन्तरिक मूल्यांकन गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
आगोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार सुझाव प्राप्त हुनेक्रम जारी छ । आज अफिस समयसम्म प्राप्त सुझाव एकीकृत गरेर अध्ययन गर्ने अर्यालले जानकारी दिइन् ।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान विपरित रहेको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको विपक्षी दलहरुको बैठकले सो कार्यविधि स्वमूल्याङ्कनका नाममा दलमाथि नियन्त्रण गर्ने उद्देश्यका साथ ल्याउन लागिएको ठहर गरेको हो ।