आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

‘कुलिङ पिरियड’ विवाद: सभापति खतिवडाको भूमिकामाथि बढ्दो दबाव

बुधबार, साउन २१ २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको “कुलिङ अफ पिरियड” सम्बन्धी प्रावधानमा भएको गम्भीर त्रुटिको विषयले संसदीय र राजनीतिक वृत्तमा तरंग फैलिएको छ।

छानबिन समितिको प्रतिवेदन अनुसार, त्रुटिको जिम्मेवारी विशेषतः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरा र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको भूमिका अस्वाभाविक रहेको देखिएको छ।

नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा बनेको सात सदस्यीय संसदीय विशेष छानबिन समितिले म‌ंगलबार सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा सभापति खतिवडालाई त्रुटिप्रति नैतिक जिम्मेवार ठहर गरिएको छ। तथापि, छानबिन समितिले प्रतिवेदनमा कसैलाई कानुनी रूपमा दोषी वा कारबाहीको लागि नाम स्पष्ट रूपमा उल्लेख नगरेको हुनाले खतिवडाले आफूले गल्ती नगरेको भन्दै राजीनामा नदिने अडान सार्वजनिक रूपमा लिएका छन्।

खतिवडाको यस्तो प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। ट्विटर, फेसबुकलगायत माध्यमहरूमा उनले जिम्मेवारी स्वीकार नगरेको विषयमा आलोचनात्मक प्रतिक्रिया देखा परेका छन्।

यद्यपि, नेपाली कांग्रेसका शीर्ष तहबाट औपचारिक धारणा आइसकेको छैन। छानबिन समितिका सभापति परियारले आफूहरूले सत्यतथ्य उजागर गरेको र तथ्यपरक प्रतिवेदन सर्वसम्मत ढङ्गले तयार पारेको बताएका छन्।