गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक उपमहासचिव जनार्दन शर्माको प्रष्ट र आलोचनात्मक धारणाका कारण विवादास्पद र चर्चित बनेको छ।
शर्माले पार्टी निर्माणको प्रयासमा संलग्न आफूलाई विभाजनको आरोप लगाएकोप्रति असन्तुष्टि जनाउँदै, आवश्यक परे आत्मालोचना र त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
आइतबार पार्टी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि विभाजनको हल्ला चलाएको आरोप लगाए। उनले भने, “माओवादीले पहिलो निर्वाचनमा ३१ लाख मत पाएको थियो, अहिले ११ लाखमा झरेको छ। जिम्मेवारी मेरो हो भने स्वीकार्छु, होइन भने अरूले पनि जिम्मा लिनुपर्छ।”
शर्माले आफू पार्टी नछोड्ने अडान व्यक्त गर्दै, माओवादी निर्माणमा आफ्नो पनि लगानी रहेको बताए। उनले हेडक्वार्टरबाट कार्यकर्तामा भ्रम छर्ने काम भइरहेको र पार्टी पुनर्निर्माणको आफ्ना एजेन्डा डाइभर्ट गर्न नियोजित ढंगले विभाजनको हल्ला फैलाइएको आरोप लगाएका छन् ।
पूर्ववर्ती नेताहरूको प्रशंसा विपरीत, शर्माको आलोचनात्मक भनाइ केही नेताहरूले अस्वीकार गरेका थिए। यद्यपि, राम कार्की र परशुराम तामाङले भने शर्माले उठाएको विधि, प्रक्रिया र संगठन रूपान्तरणको माग उचित रहेको बताए।
शर्माले माओवादीले सञ्चालन गर्दै आएको सुशासनको अभियान दुई बुँदे सहमतिमा विसर्जन भएको टिप्पणी गर्दै प्रचण्डमाथि कांग्रेस–एमालेसँगको सहमतिका कारण पार्टीको निर्णयविपरीत सरकारको खेलमा लाग्ने आरोप समेत लगाए ।
पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र प्रणालीमा संकट रहेको भन्दै शर्माले विचार, स्पष्ट राजनीतिक लाइन, प्रतिस्पर्धा र उत्तरदायित्वमा आधारित विशेष महाधिवेशन आवश्यक रहेको प्रस्ताव गरे ।
“अब पार्टीभित्र खुला बहस हुनुपर्छ,” उनले भने, “स्वचालित संरचना, आर्थिक आत्मनिर्भरता र जनसंगठन निर्माण आवश्यक छ।”
शर्माको भनाइप्रति केही नेताले आत्मालोचनाको माग गरेका छन् भने केहीले प्रचण्ड र शर्माको दुबैको कमजोरी रहेको टिप्पणी गरेका छन्।
शर्माले लामो समयसम्म एउटै व्यक्तिले पार्टीको नेतृत्व गरिरहनु संगठनलाई ‘जमेको तलाउ’ जस्तो बनाएको टिप्पणी गर्दै विशेष महाधिवेशनमार्फत नेतृत्वमा परिवर्तनको प्रस्ताव अघि सार्दै आएका छन्। यद्यपि, पार्टीले २०७९ सालमै विशेष महाधिवेशन गर्ने निर्णय गरे पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन। अब २०८३ सालभित्र नियमित महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विशेष महाधिवेशनको सम्भावना झनै कमजोर देखिएको छ।
माओवादी केन्द्रभित्र उत्पन्न यो अन्तरद्वन्द्वले नेतृत्वको वैचारिक स्पष्टता, संगठनात्मक स्थायित्व र भविष्यको दिशा तय गर्न कठिन चुनौती खडा गरेको छ।
अध्यक्ष प्रचण्डले पार्टीमा जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्नुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकपछि आइतबार पार्टी कार्यालय परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । ‘छलफल चलिरहेको छ, जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने हो,’ प्रचण्डले भने ।
बैठकपछि पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिए ।