काठमाडौं । आज साउनको तेस्रो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।
साउनको सोमबार विशेष पूजा आराधना गर्ने प्रचलन छ । सोमबारका दिन पूजाआराधना र अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
साउनको सोमबार सात्विक खानपान र हरियाली चुरा पोतेजस्ता सौभाग्यको साथमा मनाउने गरिन्छ । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना रहेको बताइन्छ ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसेर शुद्ध जल चढाउँदै शिवलाई खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।
ज्योतिष शास्त्रानुसार सोमबारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ साउन महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ।
यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवं विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।
यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।