काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी नेतृत्वप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीमाथि खुला रूपमा प्रश्न उठाएका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले हालको नेतृत्व असफल भएको भन्दै पार्टीभित्र वैचारिक विचलन र संगठनात्मक कमजोरी गम्भीर समस्याका रूपमा देखिएको बताए।
पार्टीभित्र देखिएका समस्याबारे सचिवालयदेखि स्थायी समितिसम्म छलफल गर्नुपर्नेमा नेता खनालले जोड दिए।
उनले भने, ‘पार्टीभित्रको वैचारिक सङ्घर्षलाई छलफलमार्फ सम्बोधन गर्नुपर्छ। पार्टीको बैठकमा समस्या समाधानका विकल्पहरू खोज्नुपर्छ।’
खनालले चार वर्षअघि एमालेबाट अलग हुनुको औचित्य अझै पनि स्थापित गर्न नसकिएको स्वीकार गरे। “हामीले विद्रोह गरेकै कारण गलत होइन, तर यदि त्यसको औचित्य सावित गर्न सकिएन भने त्यो स्वतः गलत ठहरिन्छ,” उनले स्पष्ट पारे।
उनले एमालेसँगको विद्रोहपछि स्थापित नयाँ पार्टीले अपेक्षाकृत वैचारिक बहस अगाडि नबढाएको, आन्दोलनको रूपान्तरण गर्न नसकेको र कार्यकर्तामा निराशा पैदा भएको बताए।
एमसिसी पारित गर्नु, कांग्रेससँग गठबन्धन गर्नु लगायतका विषयमा आफूले अध्यक्ष नेपालसँग फरक धारणा राखेको उल्लेख गर्दै खनालले ती निर्णयहरूलाई ‘राजनीतिक भूल’ करार गरिदिए। उनले त्यसबेलाकाे कांग्रेससँगको गठबन्धनलाई धोका भन्दै त्यसको नकारात्मक प्रभाव अहिले अध्यक्ष नेपाल स्वयंले भोगिरहेको दाबी पनि गरे।
खनालले वाम एकताको नयाँ सम्भावनाबारे पनि संकेत दिएका छन्। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वामपन्थी एकतामा भूमिका खेल्न सुझाव दिँदै, ‘विद्या कमरेडले साझा मोर्चा बनाउने प्रतिबद्धता जनाउनुहुन्छ भने मेरो समर्थन रहन्छ,’ भने।
यद्यपि, पार्टी छाड्ने कुनै तयारी नरहेको उनले प्रस्ट पारे। “झलनाथ खनालले पार्टी छाडेर हिँड्दैन, बरु संगठन र विचारमा सुधार ल्याउने अभियानको नेतृत्व गर्छ,” उनले भने।
पार्टीभित्र रूपान्तरणका लागि संघर्ष गर्ने अठोट व्यक्त गर्दै खनालले नेतृत्व परिवर्तनको सन्देश समेत दिएका छन्। समाजवादी मोर्चाको घोषणा कार्यक्रममा सहभागी नहुन चाहँदासमेत माओवादी अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा पुगेको उनले खुलासा गरे। उनको यस्तो टिप्पणीलाई अध्यक्ष नेपाल नेतृत्वप्रति सीधा असन्तुष्टि र संगठनको वैचारिक दिशाबारे गहिरो चिन्ताको रूपमा लिइएको छ।
खनालको यो भनाइ पार्टीभित्र बढ्दो असन्तुष्टि र वामपन्थी राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।