आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हृदयेन्द्रको ‘जुम्ला भ्लग’बारे सांसद लामाको टिप्पणीप्रति आलोचना

शनिबार, साउन १७ २०८२

काठमाडौं । पूर्वयुवराज हृदयेन्द्र वीर विक्रम शाहले तयार पारेको जुम्लाको संस्कृति, सौन्दर्य र सभ्यता झल्काउने भ्लगबारे माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले दिएको टिप्पणीलाई असभ्य, अमर्यादित र पाखण्डपूर्ण भन्दै चर्को आलोचना भइरहेको छ।

सांसद लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उक्त भ्लगप्रति सार्वजनिक रूपमा नकारात्मक धारणा राखेकी थिइन्। उनको टिप्पणीले न केवल नवयुवराजको प्रयासलाई होच्याएको आरोप लागिरहेको छ, बरु जुम्लाको पहिचान र गौरवमाथि प्रहार गरिएको भन्दै विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको छ।

सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सांसद लामाको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण भनेका हुन्। उनले हृदयेन्द्रका बारेमा लामाको सार्वजनिक अभिव्यक्तिमा माओवादी केन्द्रको धारणा प्रतिबिम्बित छ भन्दै प्रश्न समेत गरेका छन्।

‘जुम्लाको सभ्यता, सौन्दर्य र पहिचानलाई विश्वमाझ चिनाउने बहुचर्चित ‘भ्लग’लाई लिएर जुम्लाकै सांसद लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा नागरिकको स्वतन्त्रता र अथितिको मर्यादा विपरीत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसै सन्दर्भमा नागरिक समाज, स्थानीय बासिन्दा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेकपा (माओवादी केन्द्र) समक्ष स्पष्ट धारणा माग गरेका छन्।

के सांसद लामाको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा हो? यदि होइन भने, पार्टीले यसबारे स्पष्ट वक्तव्य जारी गर्नुपर्ने माग बढ्दो छ। साथै, आलोचकहरूले लामासँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन्।

नवयुवराज हृदयेन्द्रको ‘जुम्ला भ्लग’ले जुम्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय जनजीवनलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। त्यस्तो पहललाई हतोत्साहित गर्ने खालका टिप्पणीप्रति विशेषत राजावादीहरु आक्रोशित छन्।