विराटनगर। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई राजीनामा दिएर सहज रूपमा मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। कोशी प्रदेश समिति बैठकमा सहभागी हुन विराटनगर पुगेका नेता नेपालले पत्रकारको प्रश्नमा यस्तो सुझाव दिएका हुन् ।
पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकालाई लिएर बढ्दो अन्तरसंघर्ष र असन्तुष्टिको बीचमा अध्यक्ष नेपालको यस्तो अभिव्यक्ति आएको हो।
नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् ।
‘उहाँले त्यसो भन्नु भएको हो भन्ने मलाई विश्वास लागेको छैन’, अध्यक्ष नेपालले झलनाथ खनालको भनाइप्रति टिप्पणी गर्दै भने, ‘अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ।’ यद्यपि उनले थपे, ‘उहाँले पार्टीबाट बिदा लिनुपर्छ।’
नेपालले माओवादी केन्द्रसँगको सहकार्यलाई संस्थागत निर्णयका रूपमा अगाडि बढाइएको स्पष्ट गरे। ‘माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो, यसमा कसैले विरोध गर्नुको अर्थ छैन।’
उनले माओवादीसँग पार्टी एकीकरणको कुरा भने नभएको बताए।
एक टेलिभिजन अन्तर्वार्तामा वरिष्ठ नेता खनालले पूर्व पार्टी नेकपा (एमाले) छाडेको निर्णयप्रति पश्चाताप व्यक्त गरेका थिए । खनालले आफूले एमाले छोड्नु गल्ती भएको स्पष्ट रूपमा स्वीकार गरेका थिए ।
खनालले २०७८ सालमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माधवकुमार नेपालसँगै नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। तर पछिल्लो समय पार्टीभित्र आफूलाई पछार्ने खेल बढेको, निर्णय प्रक्रियामा सहभागी गराइएन, र वैचारिक बहस होइन, गुटगत अंकगणित हावी भएको भन्दै खनाल असन्तुष्ट हुँदै आएका छन् ।