काठमाडौं । नेकपा (एमाले)ले आसन्न विधान महाधिवेशनको तयारी तीव्र पार्दै विभिन्न नेताहरूमाझ जिम्मेवारी बाँडफाँड गरेको छ।
पार्टीको शीर्ष नेतृत्वले महाधिवेशन सफल बनाउन आवश्यक कार्यसूची तय गर्दै संगठनात्मक जिम्मेवारी तोकेको हो।
महाधिवेशनको व्यवस्थापन, मस्यौदा निर्माण, छलफल संयोजन, जनसंपर्क र प्रचार–प्रसार लगायत विषयमा कार्यदल गठन गरिएको छ। पार्टी महासचिव शंकर पोखरेलको समन्वयमा विधान मस्यौदा समितिलाई सक्रिय पारिएको छ भने उपमहासचिव र अन्य स्थायी समिति सदस्यहरूलाई विभिन्न उपसमितिको नेतृत्वमा जिम्मेवारी दिइएको छ।
महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई र कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई जिम्मा दिएको जनाएको छ ।
महाधिवेशन प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ । विधान महाधिवेशनमा दुई हजार २७९ प्रतिनिधि तोकिएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विधानमा आवश्यक संशोधन र परिमार्जनका लागि प्रदेश र जिल्ला स्तरबाट सुझाव संकलन भइरहेको छ। सोही सुझावलाई आधार बनाएर नयाँ राजनीतिक सन्दर्भअनुसार पार्टी संरचना र नीतिमा आवश्यक परिवर्तन गरिने एमालेले जनाएको छ।
महाधिवेशनको मिति र कार्यतालिका चाँडै सार्वजनिक गरिने तयारीसमेत भइरहेको पार्टी स्रोतले जनाएको छ। विधान महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ गर्दै भावी निर्वाचनका लागि रणनीतिक दिशा तय गर्ने एमालेको उद्देश्य छ।