काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कम्युनिष्ट आन्दोलन इतिहासबाट कुनै पाठ नलिएको बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पार्टीभित्र स्टालिनवादी प्रवृत्ति अपनाएको आरोप लगाएका छन्। ओली र प्रचण्ड दुबैले आन्तरिक आलोचना र फरक मत राख्ने नेताहरूलाई स्टालिनकै शैलीमा पालैपालो राजनीतिक तथा सांगठनिक रूपमा सफाया गर्दै आएकाे आराेप छ । यही आराेपबीच भट्टराईले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशातर्फ धकेलिरहेको जिकिर गर्दै वैकल्पिक मार्गको खाँचो औंल्याएका छन्।
उनले चर्चित अंग्रेजी भनाइ ‘We learn from history that we do not learn from history’ अर्थात् “हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्दैनौं” लाई उद्धृत गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा यो ठ्याक्कै लागू हुने बताएका छन् ।
भट्टराईले भनेका छन्– ‘झापा आन्दोलन (२०२८–३१) र जनयुद्ध (२०५२–०६२) को जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन अहिले रसियाली कम्युनिष्ट पार्टीको पतनपथमा उन्मुख देखिन्छ।’
उनले सो आन्दोलनलाई वैचारिक स्खलन, नेतृत्वको अराजकता, र जनतालाई झूटो आश्वासन दिने परिपाटीले ग्रसित भएको बताए। भट्टराईले वर्तमान अवस्था सोभियत संघको ब्रेजनेभ युग (१९६४–८२) सँग तुलना गर्दै “गतिहीन काल” को झल्को दिने बताए।
भट्टराईका अनुसार सत्तामा पटकपटक पुगे पनि कम्युनिष्टहरूले समाजमा गुणात्मक रूपान्तरण गर्न सकेनन्, तर ‘समाजवाद’ वा ‘साम्यवाद’ आउँछ भन्ने हवाई गफ भने यथावत् छन्। उनले पार्टीभित्रको आलोचना र बहसलाई थिच्ने प्रवृत्ति स्टालिनकालीन ‘ग्रेट ट्रायल’ (Terror) सँग तुलना गरे। स्टालिनले आफ्ना आलोचकहरूलाई जसरी निस्तेज पारे, नेपाली कम्युनिष्ट नेताहरू पनि आलोचकहरूलाई राजनीतिक रूपमा सफाया गर्न लागिपरेको आरोप उनले लगाए।
उनले एकलव्यतामा अन्धभक्त भएर बस्ने कार्यकर्ताहरूलाई व्यंग्य गर्दै प्रश्न गरेका छन् – “पार्टी सुप्रिमोले अरूलाई ठोक्दा ताली पिट्ने अनि आफ्नो पालो आउँदा आँसु झार्नेहरूले अब इतिहासबाट पाठ सिक्ने कि वैकल्पिक बाटो खोज्ने?” भट्टराईले अब नयाँ सोच र साहससहित समाजवादको नयाँ मोडेल निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्।