आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वामदेव गौतमको शैली र आकांक्षाप्रति एकीकृत समाजवादीमा असन्तुष्टि

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । नेकपा (एमाले) छाडेको चार वर्षपछि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता वामदेव गौतमको जिम्मेवारीप्रतिको मागलाई लिएर पार्टीभित्र विवाद चुलिँदै गएको छ।

साउन २ गते राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रममार्फत अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसँग अंकमाल गर्दै पार्टीमा प्रवेश गरेका गौतमले प्रवेशलगत्तै सक्रिय भूमिकाको अपेक्षा राखेका थिए। तर, एक महिनाभित्रै उनको मागलाई लिएर नेतृत्व तहमै असमझदारी देखिएको छ।

गौतमले पार्टीको संगठन विभागको जिम्मेवारी मागेपछि विवाद चर्किएको हो। उक्त विभाग हाल बेदुराम भुसालको जिम्मामा छ। गौतमले संगठन विभाग पदको लोभमा नभई दललाई बलियो बनाउने लक्ष्यका लागि खोजिएको दाबी गरे पनि नेतृत्व र अन्य वरिष्ठ नेताहरू यो मागप्रति सहज देखिएका छैनन्।

गौतमले बेदुराम भुसालसँग जिम्मेवारी साटफेर गर्न आग्रह गरे पनि भुसालले अस्वीकार गरेको बुझिएको छ। यसले पार्टीभित्र शक्ति सन्तुलन, अनुशासन र दीर्घकालीन रणनीतिमा असर पार्न थालेको विश्लेषण गरिएको छ।

२०७७ पुस २५ गते एमाले–माओवादी केन्द्रको एकता भंग भएपछि उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। त्यही अभियानको संयोजकको भूमिकाबाट उनले समाजवादीमा प्रवेश गरेका हुन्।

गौतमले पार्टी प्रवेशको क्रममा “सय वर्ष बाँचे पनि समाजवाद ल्याउने” उद्घोष गरे पनि तुरुन्तै प्रभावशाली पदको खोजीले पार्टीभित्र असहजता पैदा भएको छ। धेरै नेताहरू भर्खरै आएका व्यक्तिलाई प्रमुख जिम्मेवारी दिनु अनुचित ठानिरहेका छन्।

अध्यक्ष नेपालका लागि पनि परिस्थिति सहज छैन। आफूले पहल गरेर गौतमलाई पार्टीमा ल्याए पनि अब उनलाई कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा अन्योल र दबाब दुवै बढेको छ।

गौतमको शैली र आकांक्षाप्रति असन्तुष्टि देखाउँदै कतिपय नेताहरूले “पुरानालाई बेवास्ता गरेर भर्खरै आएका व्यक्तिलाई उच्च जिम्मेवारी दिनु पार्टी हित विपरीत हुन्छ” भन्ने धारणा सार्वजनिक रुपमा भने नबताए पनि आन्तरिक छलफलमा राखिरहेका छन्।

यदि शीर्ष तहले चाँडै स्पष्ट कार्यविभाजन र समन्वय गर्न सकेन भने यो विवादले पार्टीलाई गहिरो संकटमा धकेल्न सक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।